स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२६ फागुन, चौतारा ।
२०७१ सालको साउन १७ गते सम्झँदा सिन्धुपाल्चोकको बलेफी गाउपालिका ८ जुरेका स्थानीय अझैपनि झसङ्ग हुन्छन् । मध्यराति आएको पहिरोले तीनवटा बस्ती नामेट बनाँउदा घरमा सुतेका कोही पनि जीवित रहेनन् । घरबाहिर भएर भाग्यले बाँचेकाहरू अझैपनि सरकारी प्रताडना सहेर बाँच्न बाध्य छन् ।
उनीहरूको लागि विभिन्न तीन सय ७१ व्यक्ति तथा संस्थाले आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको तत्कालीन जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको तथ्याङ्क छ । यसरी संकलित जिन्सी सामग्री तत्काल वितरण भएको भएपनि नगद २ करोड २४ लाख रुपैयाँ भने अझै सरकारी खातामा नै बन्धक बनेर बसेको छ । सरकारी झमेला तथा राजनीतिक खिचातानीका कारण सो रकम प्रभावितको हातसम्म पुग्न नसकेको स्थानीय चन्द्रमान तामाङ गुनासो गर्छन ।
२०७१ साउन १७ गते राती साविक माँखा गाविसको किटिनी भीर खसेर पहिरो गएपछि सुनकोशी नदी १४ घण्टा थुनिएको थियो । पहिरो पीडितको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषमा २ करोड २४ लाख रुपैयाँ जम्मा भएपनि सो अझै वितरण हुन सकेको छैन । १४५ जनाको ज्यान गएको उक्त पहिरोमा मृतक परिवारलाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ किरिया खर्च र केही खाद्यान्न बाहेक अरु केही पाउन सकेका छैनन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले एकद्वार निती लागू गर्ने भन्दै दाताले दिएको सबै सहयोग आफैले संकलन गरेको थियो । तर प्राप्त खाद्यान्न , लत्ताकपडा तथा औषधिबाहेक नगद सहयोग भने वितरण गर्न सकेको छैन ।
तत्कालीन समयमा पहिरो प्रभावितहरूको लागि सहयोग गरेकाहरू पनि अझैसम्म सो रकम सरकारी खातामै छ भनेको सुन्दा दुखी बनेका छन् । आफूहरूले सरकारी खातामा थुपारेर राख्नको लागि मात्रै उक्त सहयोग नगरेको गैर आवासीय नेपाली संघ, पोर्चुगलका तत्कालीन अध्यक्ष श्याम लामाले बताए ।
उनीहरूलाई रकम वितरण गर्ने सम्बन्धमा प्रकृया अगाडि बढिसकेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । प्रभावितहरूलाई क ख र ग वर्गमा वर्गीकरण गरिएको छ । उनीहरूलाई वर्ग अनुसारको रकम दिन आन्तरिक तयारी भइरहेको भनिएपनि प्रभावितले कहिले राहत पाउँछन् भन्ने कुनै टुङ्गो छैन । भुकम्प प्रभावित सरहको अनुदन पाएका केही परिवार पहिरोकै वरीपरी टहरो बनाएर कष्टसाथ बसीरहेका छन् । सो अनुदान समेत नपाएका केही परिवार भने स्थानीय लामोसाँघु, खाडीचौरका साथै काठमाण्डौमा कोठा भाडामा लिएर बसीरहेका छन् ।
उनीहरूको रकम वितरण गर्ने सवालमा गृह मन्त्रालयसँग अन्तीम छलफल चलीरहेको र छिट्टै प्रभावितहरूको खातामा रकम पठाउने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । कार्यालयको तथ्याङ्क अनुसार सो पहिरोमा पनि ४२ घर पुर्ण क्षती भएका थिए । एक सय सत्र घर आँशीक क्षती हुँदा दुइ सय ५१ घर प्रभावित भएका छन् । सो पहिरोमा परि एक सय ४५ जनाको ज्यान गएकोमा २३ जनाको मात्रै शव फेला परेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।