स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा गैरकर्मचारीलाई राहदानी जस्ताे संवेदनशील फाँटकाे जिम्मेवारी दिएकाे पाइएकाे छ । असार मसान्तदेखि नै नियुक्तिको म्याद सकिएकी कर्मचारीलाई हालसम्म पनि साेही फाँटमा काम लगाएर जिम्मेवारी दिएकाे पाइएकाे हाे ।
कार्यालयमा कार्यरत कर्मचारी अनिता तिमल्सिनाको करार अवधि गत असार मसान्तमै सकिएको हो । त्यतिबेला पासपोर्ट फाँटमा सेवाग्राहीको भिड बढेकोले थप कर्मचारीको रुपमा कम्प्युटर अपरेटर पदमा तिमल्सिनालाई नियुक्ती गरिएको थियो ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको ठाडो निर्देशनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले तिमल्सिनालाई नियुक्ति गरेका थिए । कम्प्युटरको सामान्य ज्ञान समेत नभएकी उनलाई राजनीतिक शक्तिको आडमा कम्प्युटर अपरेटर पदमा नियुक्ति दिइएकाे भन्दै त्यतिबेलै आलाेचना भएकाे थियाे ।
उनलाई केही समय प्रशासन फाँटमा सहयोगीको जिम्मेवारी दिएर पनि काममा लगाइएको थियो । पछि तिमल्सिनालाई पूर्णअधिकारसहित पासपोर्ट फाँटको जिम्मेवारी प्रदान गरिएको थियो ।
पासपोर्ट शाखामा कार्यरत करार कम्प्युटर अपरेटरलाई अर्को व्यवस्था नभएसम्मका लागि म्याद थप नगर्नु भनी गृह मन्त्रालयले जेठ २३ गते नै परिपत्र गरेपछि तिमिल्सिनासहित देशभरका २२ जिल्लाका यस्ता करार कर्मचारीको म्याद थप भएको छैन । म्याद थप नभएपनि तिमल्सिना कार्यालय आउन त छाडेकी छैनन् नै, कार्यालयले उनिसँग बरबुझारथ समेत लिएको छैन । पासपोर्टको अनलाइन एक्सिस पासवर्ड, पासपोर्ट रहने दराजको साँचोसहित फाँटको मुलढोकाको साँचो पनि तिमिल्सिनासँगै छ । उनले नै पासपोर्टको दैनिकी कोटा सीमा खोल्ने गरेकी छिन् । उनले कार्यलयको कर्मचारीले हस्ताक्षर गर्ने फारममा कर्मचारीकै रुपमा हस्ताक्षर समेत गर्ने गरेकी छिन् ।
उनले आफू आउनुभन्दा अगाडिदेखि नै पासपोर्ट फाँटको काम गर्दै आएको र उनलाई कसले एक्सीस दिएकोबारे आफुलाई जानकारी नभएको सो फाँटका प्रमुख महेन्द्र पौडेलले बताए । ‘म आँउदादेखि नै पासपोर्टको अनलाइन काम उहाँले नै हेर्दै आउनुभएको थियो,’ तीन महिनादेखि सो फाँट सम्हालेका पौडेलले भने, ‘सेवाग्राहीको फारममा कर्मचारीले हस्ताक्षर गर्ने महलमा समेत उहाँले नै हस्ताक्षर गरिरहनुभएको छ ।’
तिमिल्सिनाको करार म्याद गत असारबाटै सकिएको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले स्विकारे । ‘मन्त्रालयको परिपत्रपछि हामीले उहाँको करार अवधि थप गरेका छैनौं र उहाँ अहिले हाम्रो कर्मचारी होइन,’ सप्रजिअ श्रेष्ठले भने, ‘साउनदेखि उहाँलाइ कार्यालयबाट कुनै रकम भुक्तानी गरिएको छैन ।’
भदौबाट करार म्याद थप हुनसक्ने आशमा एक महिना स्वयंसेवकका रुपमा काम गर्न भनी नियमित कार्यालय आएको भए पनि म्याद नथप्ने निश्चित भइसकेपछि पनि उनी कार्यालय आउन नछाडेकाेले आफूले उनलाई कार्यालय नआउन भन्न नसकेको श्रेष्ठले बताए ।
उनले साउन महिनादेखि हालसम्म सेवा गरेबापत कार्यालयबाट कुनै सुविधा लिएकी छैनन्, मागसमेत गरेकी छैनन् । बाह्रबिसे नगरपालिका-३ कि तिमल्सिना चौतारामा कोठा भाडा लिएर बस्छिन् । उनले ब्यापारीसँगको मिलेमतोमा सेवाग्राहीसँग अवैध शुल्क असुल्ने गरेको हुनसक्ने कार्यालयकै केही कर्मचारीकाे आशंका छ ।
करार अवधि सकिएपछि उनी कार्यालय आइरहेकी भएपनि हाजिरी गरेकी छैनन् । तिमल्सिना आफूलाई मन लागेको दिन कार्यालयमा प्रवेश गरेर निस्फिक्री काम गर्छिन् । मन नलाग्दा कार्यालय जाँदिनन् । उनलाई कार्यालय किन आएकाे, किन नआएकाे भनेर काेही कर्मचारीले साेधखाेजसम्म गर्दैनन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।