स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
भूकम्प र त्यसपछिको पराकम्पनले निम्त्याएको डरलाग्दो पहिरो र जमिन धाँजा फाट्न थालेपछि भोटेकोशी गाउँपालिका वडा १ लिस्तीकोट च्याम्नासा गाउँबासी सुरक्षित बास खोज्दै भौँतारिए । बाढीपहिरोले बेपत्ता र मृत्युको खबरपछि आत्तिएका यहाँका ५० दलित परिवारले सेबुङस्थित चण्डी भगवती गुठीको जग्गा सुरक्षित देखे र यहाँ आफ्नो बास बसाए । घरबार र खेत पहिरोले ध्वस्त बनेपछि सर्वस्व छाडेर आएपनि दलित परिवारका लागि बस्न जमिन थियो तर जिविकोपार्जनका लागि केही सहारा थिएन ।
तर स्थानीय संघसंस्था र स्थानीय सरकारको खानेपानी, टनेल र प्राविधिक सहयोगपछि विस्थापित परिवारले अर्को विकल्प रोजेका छन्; व्यवसायिक तरकारी खेती । भोटेकोशी १ च्याम्नासाबाट यहाँसम्म सुरक्षित आएपछि निमेक टार्न मुस्किल पर्दा स्थानीय तारा बिक हैरान थिइन् । लेकाली भेग ,पानीको हाहाकार र आरन पिटेर हैरान । ‘अहिले घरपिच्छे धारा छ ,तरकारीका लागि टनेल छ ,पानी मनग्य भएकाले खेतबारी र टनेलमा सागसब्जी ,काउली उमारेर बेच्छु खर्च हुन्छ तरकारी किन्नु पर्दैन, घरको निमेक टरेको छ,’ ४३ वर्षकी विकले भनिन् ।
भूमेश्वरी कृषि समूह बनाएर तरकारी खेतीमा होमिन थालेको सुनाउँदै उनले सहयोगी संस्था एसिया नेपाल र जनहितलाई धन्यवाद दिइन् । ताराझैं तरकारी खेती सुरु गरेपछि आफूमा उत्साह फर्किएको अनुभव गर्छन् ४६ वर्षे लोकबहादुर बिक । ‘अब पहिलेझैँ हामी बेर्खची हुनुपर्दैन, गुठीकै भएपनि सुरक्षित जग्गामा जसोतसो घर छ, तरकारी उमारेर घरछेउकै गुम्बा बजारमा बेच्न लैजान्छौ, यसरी हाम्रो जीवन केही सहज बनेको छ’ उनले भने ।
भोटेकोशी १ का वडाअध्यक्ष साङ्बो लामाका अनुसार जनहित नेपालको समन्वयमा इटालियन संस्था एसिया नेपालले ७८ लाख बराबरको खानेपानी ट्याङ्की, इन्टेक, घरघरमा धारा र ३७ वटा तरकारी उत्पादन गर्ने टनेल सहायता गरेको छ । यी सहयोगपछि तारा र लोकबहादुरझै ५० परिवारमा तरकारी बेचेरै मासिक कमाइ हुन थालेपछि खुशी फर्किएको उनले बताए ।
यी पुर्नस्थापित बस्तीबाट उत्पादित भएपनि बिक्री नभएमा बजारिकरणको जिम्मा स्थानीय सरकारले लिने नीति वडा सरकारले लिएको छ । ‘गापाले ग्रिन टनेलमा ७ लाख विनियोजन गरेको छ । त्यो टनेलमा फगिङ सिस्टमबाट पानीको वर्षा गराइन्छ, उत्पादित तरकारीको बेर्ना अरु ३६ टनेलमा सारिन्छ’ लामाले भने ।
दलित समुदायलाई आधुनिक तरकारी बाली प्रशिक्षण दिइएकाले यहाँका दलित परिवार तरकारी खेतीमा होमिएको जनहित नेपालका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए ।
यस कार्यक्रमले दलित समुदायको जीवनस्तर नै फेरिएको आफूलाई महसुस भएको एसिया नेपालका निर्देशक नवराज आचार्यले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।