स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जनैपूणिर्णिमा एउटा पर्व मात्रै नभएन उच्च हिमाली क्षेत्रका पोखरी तथा कुण्ड भ्रमण गर्ने अवसरको रुपमा समेत लिने गरिएको छ । यो समयमा बिशेषगरी गोसाइँकुण्ड, पाँचपोखरी, भैरवकुण्ड लगाएतको स्थानमा धार्मिक तथा प्राकृतीक रसापानको लागि भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ ।
सिन्धुपाल्चोक जिल्लाकै प्रसिद्ध पाँचपोखरी, भैरवकुण्ड, इर्खु रानीपोखरी तथा नौलिङमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । यहाँ हामीले चर्चा गर्न लागेको स्थान भने प्रशस्त पर्यटकीय संभावना बोकेर पनि ओझेलमा परेको स्याबल पोखरीको हो ।
सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–३ स्थित तेम्बाथान हुदैं पुगिन्छ स्याबल पोखरी । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा वा संघिय राजधानी काठमाडौंबाट २ दिनमो आरामदायी यात्रामा तेम्बाथान पुगी तेस्रो दिन पुग्न सकिने स्याबल पोखरीबाट केही घण्टाको दुरीमा सत्य, न्याखर्क तथा लामोपोखरी समेत पुग्न सकिने हुनाले हिमाली क्षेत्रको यात्रा गर्न रुचाउने हरेक व्यक्तिको लागि स्याबल पोखरी उत्कृष्ट गन्तव्य बन्नसक्छ ।
समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको स्याबल पोखरी, ४३ सय ६५ मिटरको सत्य (बौलाह) पोखरी, ४३ सय ६७ मिटर उचाईमा रहेको न्याखर्क पोखरी धार्मिक तीर्थस्थलका रुपमा समेत परिचित छ । विशेषगरी स्याबल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक पोखरी हो । यो पोखरीको लम्बाई पाँच सय मिटर र चौडाई तीन सय मिटर छ । यो अण्डाकारमा फैलिएको छ ।
लामा गुरु निमा शेर्पाका अनुसार खर्कमा चर्न गएको चौरी एकाएक हराएपछि गोठालोहरूले चौरी खोज्ने क्रममा स्याबल पोखरी फेला पारेका हुन् । चौरीहरूले पोखरीको डिलको ढुंगामा दुध दिएको देखेपछि भगवान महादेव रहेको विश्वासमा पुजाआजा गर्न थालिएको थियो । उहाँका अनुसार आँखा चिम्लेर वरदान माग्दा गोठालाहरूको हातमा चौरीको भुत्ला हातमा परेको विश्वास छ ।
यसपछि चौरीको गोठ बड्न थालेको र आम्दानी पनि बढेको विश्वास गरियो । १३ पुस्तादेखि तेम्बाथान, दिपु, तेगाका स्थानीय जनै पूर्णिमाका दिन झाँक्रीसहित पुजा गर्न र वरदान माग्न स्यापल पोखरी पुग्ने गरेका छन् । धन माग्नेले धन, सन्तान माग्नेले सन्तान पाएको भन्दै स्यापल पोखरी महादेवप्रति स्थानीयको विश्वास बलियो छ ।
स्याबल पोखरीमा प्रत्येक बर्ष जनै पूर्णिमाका दिन मेला लाग्छ । जनै पूर्णिमाभन्दा दुई दिनअघि नै विधि विधानका साथ तेम्बाथानबाट झाँक्रीसहित जात्राका लागि प्रस्थान गर्छन् । करिब पाँच घण्टाको ठाडो उकालो चड्दै सुपखर्कको चौरी गोठमा पुग्छन् । त्यहाँ रातभर नाचगान गरेपछि भोलिपल्ट लगभग पाँच घण्टाको उकालो हिँडेपछि स्याबल खर्कको गोठमा बास बस्न पुग्छन् ।
भोलिपल्ट एक दिन थकाई मारेपछि स्थानीयवासी जात्राको तयारीमा जुट्छन् । पोखरी जाँदा फोहोर नगर्ने, जाँड रक्सी र सुर्ती नखाई प्रवेश गर्नेमा स्थानीय एकमत हुन्छन् । जात्रामा पहिलोपटक सहभागी हुनेले तीन स्थानको देउरालीमा माने स्याल्गर थाप्नुपर्छ । जात्रामा स्याल्गर लिएर गए सजिलो हुने र मागेको वरदान पाउने स्थानीयको विश्वास छ । स्याबलमा महादेबको मन्दिर छ ।
स्याबल पोखरी महादेवको मन्दिरमा पुजाआजा गरे धन, सुख, शान्ति र सन्तानप्राप्त हुने विश्वासले स्थानीयमाँझ लोकप्रिय छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि सडक पूर्वाधार अभावमा स्याबल पोखरी र मन्दिर चर्चामा छैन । स्थानीय युवाहरू अब यस धार्मिक र पर्यटकीय स्थलको प्रचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
यहाँबाट उच्च हिमाली भेगका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकाले युवाहरूको विशेष रुचिमा पर्ने गरेको छ । जुगल–३ का तेम्बाथान, दिपु, तेगालगायत गन्तव्य पनि प्रचारप्रसार अभावमा ओझेलमा छन् । यहाँका सत्य (बौलाह) पोखरी, न्याखर्क पोखरीमा फाट्टफुट्ट पर्यटक पुगे पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुन आवश्यक छ । तेम्बाथान, दिपु, तेगा विकटमा रहे पनि यहाँ पुगेपछि सबै खालका पीडा, दुःख बिर्साउँछ ।
सिंगो जुगल गाउँपालिका प्रशस्त पर्यटीकय सम्भावना बोकेको गन्तब्य हो । यहाँको प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा साँस्कृतिक गतिविधिले पर्यटक तान्ने सम्भावना प्रचुर छ । तर यि पर्यटकीय उत्पादनलाई प्रचार प्रसार गर्न अवश्यक छ ।गाउँपालिकामा रहेका प्राकृतिक पोखरी, सुन्दर चौर, भञ्ज्याङ, भीर र अग्ला पहाड, चरिरहेका चौरीहरूले वर्यटकलाई मन्त्रमुग्ध पार्नेछन् ।
सदरमुकाम चौताराबाट पहिलो दिन बलेफी जलविरे, जुगलकै कात्तिके, पाङ्गारपुसम्म बसमा जान सकिन्छ । काठमाडौंबाट जानेहरू पाङ्गारपुसम्म बस वा अन्य सवारी साधनमा जान सक्छन् । पाङ्गारपु पुगेपछि पैदलयात्रामार्फत दोस्रो दिन बोल्दे, गुम्बा, ल्हाक्याप भीर, नेसम खोला हुँदै तेम्बाथानमा बास बस्न सकिन्छ । तेम्बाथानसम्म बाटो र खानपिनका लागि राम्रै व्यवस्था छ ।
तर, तेस्रो दिन तेम्बाथानदेखि अगाडि जंगलको बाटो भएकाले केही असहज हुनसक्छ । ठाउँठाउँमा गोठ तथा छाप्राहरू भेटिन्छन् । तेम्बाथानबाट सुपखर्क, देउराली हुँदै यि पोखरीमा पुग्न सकिन्छ ।
यहाँ स्याबल पोखरी मात्रै नभएर स्याबल पोखरीबाट एक घण्टा पैदलयात्रा पश्चात ४६ सय मिटर उचाईमा रहेको रहस्यमय सत्य ९बौलाह० पोखरी, न्याखर्क ९लामो० पोखरी पुग्न सकिन्छ । न्याखर्क, सत्य पोखरीमा पनि मनोकांक्षा पूरा हुने स्थानीय बताउँछन् ।
४२ सय मिटर उचाइमा रहेको स्यापल पोखरीबाट एक घण्टा उकालो र ओरालो हिँडेपछि सत्य पोखरी पुगिन्छ । स्थानीयले यो पोखरीलाई बौलाहा पोखरी समेत भन्छन् । मान्छेको आवाज सुन्नासाथ बीचबाट पानीको फोका उम्लने र अचानक हुस्सु, कुहिरोले छोप्ने भएकाले यसलाई स्थानीयले रहस्यम र बौलाहा पोखरी भन्ने गरेका छन् ।
पोखरीले देखाउन चमत्कारले अझै पनि सत्य र देवताको अस्तित्व रहेको पुष्टि हुने स्थानीयको बुझाइ छ । जुगल–३ का अध्यक्ष लक्ष्मण दोङ सबैको समन्वयमा पोखरीमा देखिने रहस्यबारे अध्ययन गर्ने तयारी भईरहेको बताए ।
यसबर्ष भदौ ३ गते लाग्ने जनैपूर्णिमा मेलाका लागि पोखरीसम्म जाने बाटो मर्मत सुधार समेत गरिसकिएको वडाध्यक्ष दोङले बताए । तेम्बाथानसम्म पुग्ने गोरेटोका साथै झोलुङ्गे पुल समेत बाढी तथा पहिरोको कारण क्षति भएको थियो । ती सबै मर्मत भइसकेका छन् ।
यद्यपी विकटताले भने यो पोखरीमा उल्लेखनीय आन्तरिक पर्यटक पुग्न सकेका छैनन् । पोखरी पुग्दा र पोखरी परिसरमा बस्दा शान्त र सुन्दरताले मनै लोभ्याउने गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।