स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१६ फागुन, चौतारा ।
ठुला विकासका आयोजनाले दिने खुसी धेरै लाभग्राहीका लागि ठुलै खुसी हुनसक्छ । तर साना आयोजनाले थोरै लाभग्राहीलाई दिने खुसी पनि निकै ठुलो हुनसक्छ । यसकै एउटा उदाहरण हो सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७, मिजारटोल ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७, मिजारटोलमा १९ घरको लागि निर्माण भएको सानो खानेपानी आयोजना ठुलो खुसी दिएको छ । गाउँ नजिकै पानीको मुहान भएपनि त्यसलाई व्यवस्थित गर्न नसक्दा त्यहाँ निकै समस्या थियो । एउटै खुला धारोमा टोलभरीका मानिस पानी थाप्न आँउदा पालै आँउदैन थियो भने कहिलेकाँही त झगडा समेत पर्थ्याे ।
नुहाउन तथा कपडा थुन खोलासम्म पार्नुपर्थ्याे । तर अहिले एक घर एक धारा सहितको खानेपानी आयोजना बनेपछि गाउँमा खुसियाली छाएको छ । ‘पहिले पानी थाप्न पालो नआँउदा छिमेकीसँग बाझाबाझ पनि हुन्थ्यो ।’ स्थानीय मिना थापामगरले भनिन् —‘अहिले घरघरमै धारो आएपछि निकै सजिलो भएको छ ।’
घरमै धारा जडान भएपछि विशेषगरी महिला र बालबालीका बढी खुसी देखिएका छन् । धारामा पानी थाप्न जाँदा पालो नआएर विद्यालय नै ढिला पुग्ने बालबालीकाहरू अहिले समयमै विद्यालय पुग्न थालेका छन् । ‘पहिले त पानीको पालो कुर्दाकुर्दै स्कुल जानै ढिला हुन्थ्यो ।’ स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्ने सविना तामाङले बताइन —‘कहिलेकाँही त खानै नखाई स्कुल जान्थ्यौँ ।’
घरमै धारा बनेपछि व्यक्तिगत सरसफाईको लागि समेत उनीहरूलाई सजिलो भएको छ । धारामै साबुन तथा मञ्जनब्रस राखेका छन् । जुठो भाँडा समेत धारामा नै माझेर त्यही बनेको पक्की टाट्नामा सुकाउँछन् । जसले गर्दा उनीहरूको गाउँको स्वरुप नै फेरिएको छ ।
धाराबाट निस्कने फोहोर पानीको सदुपयोग गरेर उनीहरूले करेसाबारी समेत बनाएका छन् । सबै तरकारी किनेरै खाने उनीहरु अहिले आफूले खाएर बचेको तरकारी बेच्न समेत भ्याउँछन् । सेवक नेपाल गैरसरकारी संस्थाको ६ लाख १४ हजार रुपैयाँ, इन्द्रावती गाउँपालिकाको १ लाख रुपैयाँ र २ लाख १८ हजार रुपैयाँ बराबरको आर्थिक लागतमा सो आयोजना निर्माण भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।