स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हामीले प्रयोग गर्ने निर्जीव वस्तुहरूको पनि जीवन हुन्छ । तिनीहरूसँग हाम्रा भावना, अर्थ, अपेक्षा, संझना, घृणा, प्रेम जोडिएका हुन्छन् । वस्तुले आफ्नो अर्थ आफैँ बनाउँदैनन बनाउने नै भएपनि हामी त्यो बुझ्न सक्दैनौँ तर हरेक वस्तु अर्थपूर्ण हुन्छन । जनै त्यस्तै वस्तुहरूमध्ये एउटा वस्तु हो जसमा अनेकन अर्थहरू जोडिएका छन् ।
सनातन वैदिक परम्परामा जनैको विशेष महत्व छ । सृष्टीको प्रारम्भदेखी नै जनै धारण गरेको इतिहाँस भेटिन्छ । जनैलाइ यज्ञोपवित, यज्ञसुत्र र ब्रह्मसुत्र पनि भनिन्छ । हिन्दुको १६ संस्कार र अन्य देव, पितृ वा कुनैपनि पुजाकर्ममा जनैको अपरिहार्यता रहन्छ । जनैविना कुनैपनि यज्ञ सम्पन्न हुदैनन भने जनै नलगाएसम्म यज्ञको अधिकारी भइदैन । जनै लगाएर मात्र पनि यज्ञको अधिकारी बनिदैन, त्यसका नियम अनि आचरणको पनि पालना गर्नुपर्छ । जनै धारणका साथसाथै नियमको पालना भयोभने त्यसमा देवत्व रहन्छ । अन्यथा सामान्य डोरी भिर्नु र जनै लगाउनुमा केही भिन्नता हुदैन । तसर्थ जनै के हो जनै कसरी निर्मित हुन्छ जनै लगाउनुको तात्पर्य एवं आध्यात्मिक व्यवहारिक पक्ष के हुन भन्ने बिषयमा हामी स्पष्ट हुनुपर्छ ।
जनैको इतिहाँसलाइ सृष्टिकर्ता ब्रह्मा जी कै इतिहाँससंग जोडीएको पाइन्छ । श्रीमद्भागवत, महापुराण र अन्य शास्त्रहरुमा रामचन्द्र, श्रीकृष्ण, कपिल जस्ता भगवानहरुले यज्ञ कर्मगर्दा यज्ञोपवित धारण गरेको प्रसङ्ग राखीएको छ । यही परम्परालाइ त्यसपछीका ऋषिहरु र अहिलेका हामीहरुले अनुशरण गर्दै आइरहेका छौ ।
जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ । यज्ञोपवित हिन्दुत्वको पहिचान हो। यज्ञसुत्र वा यज्ञोपवित नाम नै अर्थपुर्ण छ । यज्ञार्थं योग्य सुत्रम यज्ञसुत्रम् अर्थात यज्ञका लागि योग्य सुत्र नै यज्ञसुत्र हो । सामान्य भाषामा भन्दा यज्ञकर्मद्वारा यज्ञकै लागि पवित्र बनाइएको सुत्र । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ ।
जनै लगाउने परम्पराको पछिल्ला बर्षहरुमा अबमुल्यन हुन थालेको छ । धर्मशास्त्रहरुले जनै लगाइदिने अधिकार पवित्र ब्राह्मणहरुलाइ छ । ब्राह्मण नभए पुजनियहरुलाइ दिएको छ तर पछिल्लो समय तिब्बती बौद्ध लामा, देखी क्षत्रिय तथा शेर्पाहरुले समेत ब्राह्मणहरुलाइ जनै लगाएका तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक हुन थालेका छन । यो हिन्दुधर्म र संस्कार माथि कै प्रहार हो । यो हिन्दु धर्मशास्त्रमा भएको स्वतन्त्रताको दुरुपयोग हो । यसरी जनै लगाउनुको धार्मिक अर्थ रहदैन र यसरी जनै धारण गर्नेहरु देव पितृ तथा कुनैपनि यज्ञको लागि अपवित्र हुन्छन । तर तपाइलाइ कसैले कार्बाही गर्दैन । हिन्दु धर्ममा स्वतन्त्रता भएकै कारण अन्य धर्मालम्बीहरुले यस धर्ममाथि पटकपटक प्रहार गरेको पाइन्छ ।
जनै लगाउने प्रचलन कसैको लहलहैमा चलेको होइन । ब्रह्मतत्वको ज्ञान अनि यज्ञयादिको पात्रका लागि यो परम्परा आदिकालदेखी नै चलिआएको हो । देख्दा शरिरमा सामान्य धागो भिरेजस्तो लागेपनि यो सामान्य धागोमात्र होइन । बिशेष विधिले निर्माण गरेर वेदमन्त्रद्वारा अभिमन्त्रित गरि देवत्वको आह्वानका साथ तयार पारिएको सुत्र हो । प्राचिन कालमा ब्राह्मणले कपासबाट निर्मित, क्षत्रियले सनपाटबाट र वैश्यले उनको धागोबाट निर्मित जनै लगाउने परम्परा भएतापनि हाल सबैले धागो वा कपासबाट निर्मित जनै धारण गरेको पाइन्छ ।
जनैको अर्को नाउँ ब्रह्मसूत्र हो । ब्रह्म भनेको चराचर जगतको मुल कारण परमेश्वर र सुत्र धागो, यि दुइ शब्दले ब्रम्हसुत्र बनेको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश्वर तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।
जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ भनिएको छ ।
ऋग्वेदका अरू मन्त्रमा पनि यज्ञोपवितको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामर्थ्य प्रदान गर्छ भनिएको छ । यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ । अग्नि समान तेजस्विता, सूर्यसमान शौर्य, चन्द्रसमान शीतलता, दिव्यगुण एवम् सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्नेकुरा वेदवाक्यबाट समेत पुष्टि हुन्छ ।
वेद र गृह्यसूत्रले सधैं सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनुपर्ने भन्छन् । यसलाई मनोवैज्ञानिक कोणबाट पनि प्रमाणित गर्न सकिन्छ । जो सधैं जनै धारण गर्छ, जो सधैं सत्यनिष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैं उँचो रहने व्यवहारबाट बुझ्न सकिन्छ ।
जनैमा ९ डोरा हुन्छन, तीमध्ये पहिलोमा ॐकार, दोस्रोमा अग्नि, तेस्रोमा नाग, चौथोमा चन्द्र, पाँचौंमा पितृहरू, छैटौंमा प्रजापति, सातौंमा अग्नि (कतै वायु पनि लेखिएको), आठौंमा सूर्य एवम् नवौं तन्तुमा विश्वदेवको आवाहन गरिन्छ । साथै तीन गाँठामा ब्रह्मा, विष्णु र महेश्वरलाई आवाहन एवम् पूजा गरिन्छ । यसकारण अभिमन्त्रित जनैमा बस्ने यी देवताले धारकलाई आफूमा विद्यमान शक्ति र सामथ्र्य प्रदान गर्छन् भन्ने शास्त्रीय वचन पाइन्छ । यि ३ ग्रन्थिलाइ ३ लोक अग्नि स्वर्ग, मर्त्य, पातल समेतका रुपमा व्याख्या गरेको पाइन्छ ।
यज्ञोपवित कति डोराको लगाउने भन्ने विषयमा शास्त्रमा फरक–फरक व्यवस्था देखिन्छ । हेमाद्रि लगायतका ग्रन्थमा ब्रह्मचारी र संन्यासीले ३ डोरा, वानप्रस्थी तथा उत्तरीय वस्त्र (गाम्छा आदि) लगाउने गृहस्थले ६ डोरा एवम् उत्तरीय नलगाउने गृहस्थले चाहिं ९ डोराको जनै धारण गर्नुपर्ने उल्लेख छ । ब्रह्मचारीले समावर्तन पश्चात ६ डोराको जनै लगाउनुपर्ने हो तर नेपाली समाजमा व्रतबन्धकै दिन समावर्तन विधि पूरा गरिन्छ । त्यसै दिनदेखि उनीहरू ६ डोराका जनै लगाउने गर्छन् ।
जनै कम्मरभन्दा मुनि जानु हुन्न र माथि पनि उठेको हुनु हुन्न भन्ने ऋषि वशिष्ठले उल्लेख गरेका छन् । जनै पुरानो भएपछि कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकारबीच मतभेद देखिन्छ । एक थरीले ६ महिनामा फेर्ने भनेका भए पनि नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ ।
व्यावहारिक दृष्टिबाट हेर्ने हो भने ऋषिहरूले आर्यलाई अरूबाट छुट्याउन शिखा र सूत्र (जनै) व्यवस्था गरेका हुन् । त्यसैले यो आर्यत्वको चिनारी हो । हिन्दु जात व्यवस्थामा उच्च जात मानिने ब्राम्हण, क्षेत्रिय लगायतका समूहलाई ‘दुईपटक जन्मिने जात’ भनिन्छ । अर्थात्, उनीहरूको जन्म दुईपटक भएको मान्यता छ । एकपटक प्राकृतिक रूपमा जन्मेपछि र अर्को ब्रतबन्ध गरेर जनै लगाएपछि । दुईपटक जन्मिने जात शुद्ध र विशिष्ट हो । यो शुद्धता र विशिष्टताको सबैभन्दा प्रस्ट संकेत जनै हो ।
जनैको सिधा सम्बन्ध व्रतबन्धसँग देखिन्छ । यज्ञोपवित धारण व्रतबन्धमै सुरु हुन्छ । व्रतबन्धको अर्थ हो– अनुशासनमा बाँधिनु । जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ । प्राचीनकालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो । तर हाल प्राय वयस्क भएपछि मात्र ब्रतबन्ध गरिन्छ ।
समय अनुसार धार्मिक मुल्य मान्यतामा परिवर्तन हुँदै गएका छन यसलाइ साँस्कृतिक रुपान्तरणको रुपमा बुझ्न सकिन्छ । तर साँस्कृतिक रुपान्तरणको फाइदा उठाउँदै परसंस्कृतिकरण तथा साँस्कृतिक विचलन भने हुनु हुदैन । यस्ता कार्यले जनैको अपमान मात्र गर्दैन सिंगो हिन्दु धर्मको धार्मिक बिशेषतामाथि नै प्रहार गर्छ । हरेक धर्मका अनुयायीहरुले खराब संस्कारहरुलाइ बहिस्कार गरी र असल संस्कृतिलाइ अनुसरण गर्नुपर्छ । तर परिवर्तनको बाहानामा पटकपटक हिन्दुहरुको संस्कारलाइ प्रभाव पारि मुलुकलाइ इसाइकरण गर्नेतर्फ भने हिन्दुत्वबादीहरु सजग र सचेत हुनुपर्ने देखिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।