स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
परीक्षा नेतृत्वकोः अङ्क मतदाताको
आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?
संघीय शासन प्रणालीको अभ्यास स्वरुप स्थानीय सरकारको ५ वर्षे गतिलो अनुभव सङ्गाल्दै नयाँ साल २०७९ वैशाख ३० गते हामी पुनः स्थानीय तहको निर्वाचनमा सहभागी हुदैछाैं । मुलुक र जनता निर्वाचनको सङ्घारमा होमिएको छ । देशका कुना काप्चा, टोल, गाउँ, नगर, शहर, बजार, चिया पसलदेखि विभिन्न तह तप्कामा आगामी नेतृत्वबारे विभिन्न चर्चा र परिचर्चा हुन थालेको छ । सबैको ध्यान निर्वाचन केन्द्रित र माहोल निर्वाचनमय बन्दै गएको छ ।
गत स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक हर्ष र उल्लास भने खासै देखिदैन जनतामा । अघिल्लो जनप्रतिनिधिहरूले जन आकांक्षा र भावना अनुसारको काम गर्न नसक्दा विश्वास र भरोसा गुमाएको अवस्था छ । आगामी नेतृत्वलाई मतदाताको मन जित्न चुनौती थपिएको छ । फेरि पनि हामी नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण घडीमा छौ । सबैको ध्यान नेतृत्व चयन र निर्वाचनले खिचेको छ ।
मुलुकमा संविधान जारी भएसँगै राज्य व्यवस्था र संरचना स्पष्ट किटान गरिएको छ । संविधानको धारा ५६ को उपधारा (१) अनुसार – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको सरकारमा विभाजन गरिएको छ । सोही धाराको उपधारा (४) बमोजिम स्थानीय तहमा गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने व्यवस्था गरिएको छ।
संघीय इकाई संघ, प्रदेश र स्थानीय तह मध्ये स्थानीय तह राष्ट्र विकासको पहिलो मेरुदण्ड हो । स्थानीय तहको मातहतमा रहने आधार इकाई वडा हो । त्यसैले राष्ट्रको सर्वाङ्गीण, सन्तुलित र दिगो विकास सँगै समृद्धिका निम्ति राज्य संरचनाको सबैभन्दा सूक्ष्म इकाई वडा विकास पहिलो आधार हो । घरको जग बलियो हुँदा घर मजबुत हुन्छ भन्ने वास्तविकता झै संघीयता बलियो हुनका लागी वडा बलियो हुन अपरिहार्य सर्त हो ।
संघीय संरचना अनुसार नेपाललाई १ संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजन गरेको छ । ७५३ स्थानीय तह भित्र जम्मा ६ हजार ७४३ वडाहरू छन् । यसअर्थमा आगामी स्थानीय तहको निर्वाचन मार्फत अब देशले ७५३ जना नयाँ स्थानीय सरकारका प्रमुख, त्यसैगरी ६ हजार ७४३ जना नयाँ वडा अध्यक्षहरू प्राप्त गर्दै छन् । पालिका प्रमुख र वडा अध्यक्ष प्राप्त गर्नु मात्रै कुनै ठुलो, नौलो र गहन विषय रहेन । तर कस्ता र कत्तिको सक्षम नेतृत्व प्राप्त गर्दैछौँ भन्ने कुरो सबैभन्दा महत्वपूर्ण कुरो हो । जनताको समस्यलाई केन्द्रविन्दुमा राखेर टोल, गाउँ, समाज र नगर विकासको स्पष्ट मार्ग चित्र(road map) तथा भिजन भएका योग्य नेतृत्व चयन गर्नु अबको चुनौती हो ।
त्यसैले आम मतदाताले आगामी निर्वाचनमा कस्ता नेतृत्व चयन गर्न मत हाल्ने? मत हाल्नै पार्ने महत्त्वपूर्ण आधारहरु के– के हुन् ? यो विषयमा स्पष्ट भएर मतको सदुपयोग गर्नु नितान्त आवश्यक छ । विशेष गरि अबको नेतृत्व चयन गर्दा क्यान्डीडेटको वायोग्राफी कस्तो छ ? उसको शैक्षिक योग्यता कत्ति हो? उसको नैतिकता, समाजप्रतीको उत्तरदायित्व र सद्भाव कस्तो छ? उसको जीवन शैली कस्तो छ? कानुन र कार्यविधिको ज्ञानको स्तर कस्तो छ? आधुनिक सूचना, सञ्चार प्रविधिको प्रयोग सम्बन्धि ज्ञानको स्तर कस्तो छ? भावी रणनीति, दीर्घकालीन सोच तथा कार्यशैली एवम् योजना तथा नीति– नियम र कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्न सक्ने क्षमता छ\छैन? आदि कुरालाई ध्यानमा राखेर स्वविवेक प्रयोग गरि नेतृत्व छनौट गर्नु अबको चुनौती हो ।
नेतृत्वको बृहत बिश्लेषण र मुल्यांकन गरि The Best Candidate अर्थात जनप्रतिनिधि चुनेर निर्वाचनमार्फत देशलाई निकास दिनु सम्पूर्ण सचेत नागरिकको राष्ट्रिय अभिभारा हो । यस्ता महत्त्वपूर्ण विषयलाइ आम जनस्तरमा नै चासो एवम् बहसको विषय बनाइ छलफल र विश्लेषण गरि जनताको अमुल्य मतलाई सार्थकतामा रूपान्तर गर्न सहयोग पुर्याउनु समग्र शिक्षित, बुद्धिजीवी र सचेत नागरिकको दायित्व हो ।
निर्वाचन नेतृत्वको परीक्षा हो । परिक्षामा कति अङ्क दिने र कसलाई पास गराउने मतदाताको हातमा छ । चिटिङ गरेर परीक्षा उत्तीर्ण गर्न खोज्ने नेतृत्व चिन्न आवश्यक छ । मतदाताहरुले आफ्नो अधिकारलाई गौण बनाउन हुदैन । एक भोटको पावर चिन्न सक्नुपर्छ । संघीयताको मर्मलाई सार्थकतामा रुपान्तरण गर्न विकेन्द्रीकरण प्रणाली मार्फत गाउँ–गाउँमा स्थापित सिंहदरबारको अनुभुतीको स्थायित्व, विधिको शासन, कानुनी राज्य, सुशासन, भ्रष्टाचाररहित समुन्नत र समृद्ध समाजको स्थापना गर्न नेतृत्व चयनमा मतदाताहरु नै बढी जिम्मेवार छन् । तसर्थ योग्य, क्षमतावान, नैतिकवान र स्पष्ट भिजनरी लिडर चयन एकमात्र निर्विकल्प हो । असल नेतृत्व चयन अबको अभियान हुनुपर्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।