स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा । धेरै हैन करिब डेढ दशकअघि सिन्धुपाल्चोकको चौतारास्थित टुडिँखेलमा निकै बाक्लो दर्शकका बीच हरेक खेलहरु हुन्थे । खेलहरुमध्ये फुटबल खेलको रौनक छुट्टै हुन्थ्यो । यहाँ हुने गरेका प्रतियोगितामा सिन्धुपाल्चोकका विभिन्न स्थानबाट मात्रै नभई दोलखा, रामेछाप, काभ्रेलगायतका जिल्लाबाट पनि खेलाडीहरुले सहभागिता जनाउँथे । यहाँ हुने गरेका प्रतियोगिताबाट स्थानीयस्तरमा निकै प्रतिभाशाली खेलाडीहरु उत्पादन पनि भए ।
त्यतिबेला लयमा रहेको फुटबल खेलहरु बिस्तारै ओरालो लाग्दै गए । खेलहरु हुन छाड्यो, खेलाडी उत्पादन पातलियो । कारण थियो खेलका मैदान अभाव ।
चौतारामा फुटबल खेल्नका लागि पर्याप्त एउटै मैदान थियो टुँडिखेल । फुटबल खेल्नका लागि उत्साहित खेलाडीहरु धेरै थिए । तर, मैदान अभावकै कारण सबैले एकसाथ खेल्न पाउँदैनथे । प्रतियोगिता हुनै छाडेको अवस्था थियो । त्यसरी पनि यहाँको फुटबल क्रेज घट्दै रहेको महसुस खेलप्रेमीले गर्न थाले ।
बाक्लो दर्शकका बीच हुने प्रतियोगिताहरु पातलिँदा खेलाडीहरु उत्पादन घट्ने मात्रै हैन नयाँ पुस्ताका खेलाडी जन्मनै छाडेको अवस्थासमेत आइसकेको थियो ।
अनि टुँडिखेलमा रंगशाला बन्ने भयो । खेलप्रेमी उत्साहित बने । फुटबल खेलले गति लिनेमा सबै विश्वस्त भए । तर, रंगशालाको निर्माण निकै सुस्त भयो ।
भएको एउटा टुँडिखेलमा रंगशाला निर्माणको नाममा सामग्री थुप्रिए । तर, रंगशाला बनेन । त्यससँगै फुटबल खेल, प्रतियोगिता शून्य अवस्थामा पुग्यो ।
अनि भएका खेलाडीहरु पलायन हुन थाले । चौतारामा फुटबलको भविष्य लगभग अँध्यारोतिर धकेलिने संकेत देखा पर्यो ।
चौतारा टुँडिखेलमा निर्माणाधीन मिनी रंगशालाको काममा ढिलासुस्तीको कारण विगत ५ वर्षदेखि चौतारामा फुटबल लगायतको खेलकुद गतिविधिहरु सञ्चालन हुन नसकेको अवस्था आयो । स्थानीय युवाहरुको एउटा पुस्ता नै खेलकुद गतिविधिबाट पलायन हुने अवस्था सिर्जना भएको कारण चौतारा स्पोर्टिङ्ग क्लवको अगुवाईमा चौतारा साँगाचोकगढी नगरपालिका तथा स्थानीय खेल प्रेमीहरुसँगको सहकार्यमा निर्माण कार्य प्रभावित नहुने गरी निर्माणाधीन रङ्गशालाको बीच भागलाई सम्याई ७ ए साइड फुटबल मैदान तयार भयो ।
अनि…
फुटबलको भविष्य लगभग अँध्यारोतिर धकेलिने संकेतलाई टार्दै अहिले फेरि चौतारा फुटबलमय हुन थाल्यो ।
अहिले यहाँका खेलाडीहरु उत्साहित भएका छन् । विभिन्न समयमा प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । उमेरसमूह, विद्यालयस्तरीय प्रतियोगिताहरु हुन थालेसँगै खेलाडी उत्पादन पनि भएका छन् अहिले । यहाँका खेलाडीहरुले राष्ट्रिय लिगमासमेत सहभागिता जनाइसकेका छन् ।
यसको प्रमुख श्रेय जान्छ चौतारा स्पोर्टिङ क्लबलाई ।
बिहीबारबाट सिन्धुपाल्चोकको चौतारा चौतारास्थित टुडिँखेलमा माध्यमिक विद्यालयस्तरीय सेभेन ए साइड अन्तर मावि फुटबल प्रतियोगिता भइरहेको छ । स्थानीयस्तरमा फुटबल खेलको विकास गर्ने उद्धेश्यले यो प्रतियोगिताको चाँजोपाँजो यही चौतारा स्पोर्टिङ क्लबले गरेको हो ।
जारी प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका चौध विद्यालयले सहभागिता जनाएका छन् । यो दोस्रो चौतारा स्पोर्टिङ क्लब नगरस्तरीय प्रतियोगिता हो ।
यसअघि पनि यहाँ राष्ट्रपति रनिङ शील्ड, स्व. प्रविण घले स्मृति कप फुटबल प्रतियोगिताजस्ता खेलहरु पनि सञ्चालन भए । सेभेन ए साइड मैदान तयार गरेसँगै यहाँ साना ठूला गरी १५ भन्दा बढी प्रतियोगिताहरु संचालन भईसकेको चौतारा स्पोर्टिङ क्लबका सचिव राकेश रानाले जानकारी दिए । स्थानीय स्तरमा संचालन भईरहेका विभिन्न प्रतियोगिताहरुमा क्लवले स्वयंसेवी रुपमा सकृयताका साथ प्राविधिक, आर्थिक तथा अन्य सहयोगहरु गर्दै आईरहेको उनको भनाइ छ ।
‘रंगशाला छिट्टै नबन्ने संकेत देखेपछि खेलकुदका गतिविधि नहुने भएकै कारण सानो मैदान बनाउन बाध्य भयौं,’ उनले भने, ‘मैदान अभावकै कारण खेलाडी उत्पादन नहुने र भएका पनि पलायन हुन थालेपछि यस्तो विकल्प अपनाइएको हो ।’ रानाकाअनुसार क्लबले स्थानीय युवा खेलाडीहरुलाई प्राथमिकतामा राखी खेलाडीहरुलाई विभिन्न स्थानीय, जिल्लास्तर तथा राष्ट्रियस्तरको खेल प्रतियोगिताहरुमा सहभागी गराउँदै खेलाडीहरुको क्षमता विकासका लागि पहल गर्दै आईरहेको छ ।
सानो मैदानमा प्रतियोगिता गर्न बाध्य छन् आयोजकहरु । हज्जारौंको संख्यामा खेल हेर्न ओर्लने दर्शकहरुलाई गिज्याइरहेको छ निर्माणाधीन मिनी रंगशाला । समयमै रंगशाला नबन्दा खेलकुदका गतिविधि सन्तोषजनक हुन नसकेको खेलप्रेमी मनोज सापकोटा बताउँछन् । ‘रंगशाला नबन्दा खेलाडीको एउटा पुस्ता नै उत्पादन नहुने अवस्था आइसकेको थियो,’ उनी भन्छन्, ‘टुँडिखेलमा निर्माणकार्य अलपत्र बन्दा बिहान, बेलुकी खेलाडीहरुले गर्ने अभ्यास नै बन्द भएको अवस्था छ ।’ उनले रंगशाला निर्माण कार्यलाई खबरदारी गनुपर्ने भनाइ राखे । शून्य अवस्थामा पुगेको खेलकुद गतिविधिलाई बेवास्ता गरेर बसेको भए चौतारा खेलाडी उत्पादनमा निकै पछि पर्ने उनी बताउँछन् । ‘थोरै खेलाडीले खेल्न मिल्ने अस्थायी मैदान बनाएकाले अहिले केही सहज भएको छ ।’ उनले भने ।
हुनपनि चौतारा स्पोर्टिङ क्लबको सक्रियताकै कारण यहाँ अहिले खेडी उत्पादन भइरहेको नकार्न सकिन्न ।
क्लबका अध्यक्ष सविन श्रेष्ठ स्थापनाको शुरुवाती वर्षहरुमा फुटबल खेलमा केन्द्रित भई विभिन्न खेलकुद गतिविधिहरुमा सहभागी हुँदै आएको बताउँछन् ।
स्थापनालगत्तै २०७० को चैतमा यो क्लब जनकपुरमा आयोजित नेपाल कप फुटबल प्रतियोगितामा सहभागी भएको थियो ।
२०७० सालमै जिल्ला लिग छनौट प्रतियोगितामा सहभागी हुँदै हालसम्म सबै जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुँदै आईरहेको श्रेष्ठले बताए ।
क्लब जिल्ला लिग फुटबल प्रतियोगिता २०७१ को उपविजेता र जिल्ला लिग फुटबल प्रतियोगिता २०७४ को विजेता हो ।
राष्ट्रिय स्तरको फुटबल प्रतियोगितमा सिन्धुपाल्चोक जिल्लाको फुटबल इतिहासमा पहिलोपटक जिल्लाको क्लव सहभागी भएको क्लब हो चौतारा स्पोर्टिङ क्लब । यो क्लब अखिल नेपाल फुटबल संघ एन्फाद्वारा शहिद स्मारक सि डिभिजन लिग छनोट प्रतियोगिता २०७८ मा सहभागी भएको थियो ।
“खेल र खेलाडी हाम्रो शान, सक्षम खेलाडी उत्पादन हाम्रो अभियान“ बोकेर खेलकुदको विकास, संरक्षण र उत्थानमा होमिएको स्पोर्टिङ क्लबले २०७९ देखि नियमित रुपमा यू १६ ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
‘सानै उमेरदेखि खेलाडी उत्पादन गरी जिल्ला खेलाडीलाई राष्ट्रिय स्तरमा पुर्याइ अब्बल बनाउने हाम्रो उद्धेश्य हो,’ क्लबका अध्यक्ष सविन श्रेष्ठ भन्छन्, ‘हामी यसलाई निरन्तरता दिनेछौं ।’ उनले सिन्धुपाल्चोकलाई खेलकुदबाट पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासमा आत्मनिर्भर बनाउने अभियानमा रहेको बताए ।
हुन पनि यहाँ प्रतियोगिता सञ्चालन हुन थालेपछि चौतारा चलायमान भएको छ । प्रतियोगिता हेर्न विभिन्न गाउँबाट खेलप्रेमीहरु आउने क्रम बढ्दो अवस्थामा भएकाले चौतारामा चहलपहल बढेको सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठ बताउँछन् । ‘हामी यस्ता प्रतियोगितालाई निरन्तरता दिनेछौं,’ उनले यस्ता कार्यक्रमले चौताराको सौन्दर्य बदलिन्छ, यहाँको आर्थिक विकास तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।’ उनी भन्छन्, ‘यसले चौताराको व्यवसाय बढ्ने र खेलाडीहरु पनि उत्पादन हुनेछन् ।’
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।