स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, सिन्धुपाल्चोकले टिकट बाँडफाँडमा एकलौटी गरेपछि पार्टी बचाउन प्रतिनिधि सभा क्षेत्र नं. २ र त्यसका दुवै प्रदेश सभामा बागी उम्मेदवारी परेको छ । पार्टीको सिन्धुपाल्चोक क्षेत्र नं. २ की अध्यक्ष कुमारी तामाङले एकलौटी ढंगबाट उम्मेदवार सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
राप्रपाले प्रतिनिधि सभा २ मा नरसिंह श्रेष्ठ गोपाल, प्रदेश २ क मा बाबुराम खड्का र प्रदेश २ ख मा गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ । उनीहरूको विरुद्ध असन्तुष्ट समुह यास्मिन ढुङ्गाना, फणिन्द्र दाहाल र योगेन्द्रराज सिग्देलले क्रमश प्रतिनिधि सभा २, प्रदेश सभा २ क र २ ख मा उम्मेदवारी दिएका हुन् ।
क्षेत्रीय अध्यक्ष तामाङले आफू मातहत कुनै पनि समितिमा छलफल नै नगरी उम्मेदवार सिफारिस गरेको उनीहरूको आरोप छ । दुवै प्रदेश समितिका अध्यक्षले पनि समितिको बैठक नै नराखी आफूले आफैलाई सिफारिस गरेका थिए । क्षेत्रले पनि प्रदेशबाट प्राप्त सिफारिस उपर बैठकबिनै एकलौटी निर्णयमा केन्द्रमा नामावली पठाएको पूर्व क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले बताए । तामाङले महिला संगठनको केन्द्रिय समिति बैठकमै हातपातमा उत्रिएर कार्यालय तोडफोड समेत गरेकी थिइन् भने जिल्ला अध्यक्ष निलध्वज थापालाई समेत हातपात प्रयास गरेकी दाहालले बताए ।
तामाङले स्थानीय तह निर्वाचनमा समेत पार्टीसँग छलफल नै नगरी मेलम्ची नगरपालिकामा नेपाली कांग्रेससँग उपप्रमुख पदका लागि एकलौटी गठबन्धन गरेकी थिइन् । सो गठबन्धनका विषयमा समेत कुनै पनि समितिमा छलफल नगरेको दाहालले बताए ।
तामाङले बागमती प्रदेश सभाको समानुपातिक सुचीमा समेत एकलौटी गरेको पार्टीका नेता योगेन्द्रराज सिग्देलले बताए । जिल्लाबाट सिफारिसमा परेका पार्टीका सबै सदस्यको नाम हटाएर आफ्नो नाम मात्रै तामाङले बन्दसूचीमा पार्न सफल भएकी थिइन् । क्षेत्रीय अध्यक्ष भएपछि तामाङले पार्टीका केन्द्रदेखि जिल्ला, क्षेत्र, पालीका तथा वडा समितिमा समेत कुनै छलफल नै नगरी एकलौटी निर्णय गर्ने गरेको उनीहरूको आरोप छ ।
यही ढंगले अगाडि बढ्दा पार्टी नै ध्वस्त हुने अवस्था आएपछि आफूहरू पार्टी जोगाउनकै लागि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिन परेको पार्टीको केन्द्रिय सदस्य यास्मीन ढुङ्गानाले बताइन् । ‘पार्टीलाई बिगार्न हैन, एकतावद्ध बनाउन हामीले उम्मेदवारी दिएका हौं ।’ ढुङ्गानाले भनिन् । ढुङ्गानाको प्रस्तावकमा पार्टीको युवक सङ्गठनका जिल्ला अध्यक्ष शंकर कार्की रहेका छन् भने समर्थकमा विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठ रहेका छन् । ढुङ्गाना पार्टीको महाधिवेशनमा १ हजार ९१२ मत सहित पाँचौ लोकप्रिय मत ल्याएर केन्द्रिय सदस्य पदमा निर्वाचित भएकी थिइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।