स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची, २१ माघ ।
राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः अध्ययन गरिने भएको छ । गत असारमा परिक्षणको लागि पानी हाल्दा दुर्घटना भएपछि पुनः पानी पठाएर परीक्षण गर्नको लागि विज्ञ टोलीले अध्ययन गर्ने भएको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान आयोजनास्थलमा असार २१ मा पानी पठाइएकोमा ३० गते दुर्घटना भएको थियो । सो दुर्घटनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनियर सतिश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनियर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।
त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरेको थियो । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गरेको थियो । आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनाको दातृ निकाय एसियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइन लागेको हो । गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ । आयोजनाले थप सुधार गरेपछि पनि अझै कुनै समस्या छ/छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए । पन्तका अनुसार समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।
जर्मन प्राविधिकको टोलीले एक महिनाभित्र अध्ययन गर्ने गरी तयारी भइरहेको पन्तले बताए । यसअघि इटालियन कम्पनीले अध्ययन गरी दिएको प्रतिवेदनमा साना–तिना सुधार गर्नुपर्ने भए पनि ठूलो समस्या भने नभएको जनाएको थियो । साना किसिमका समस्या देखिएमा त्यसलाई सुधारेर पुनःपरीक्षणमा जान समय नलाग्ने उनको भनाइ छ । सुरुङमा पानी परीक्षणका लागि पठाउनु पहिले चार द्वारमा सुधार गरिएको आयोजनाले जनाएको छ । द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो । फ्रेमलाई कङ्क्रीट राखेर केही दिनसम्म हेरिएको सूचना अधिकारी पन्तले बताए ।
सुरुङ सुरक्षीत रहेको प्रतिवेदन प्राप्त भएपनि परीक्षणका लागि पानी भरेर केही दिनसम्म त्यो पानीलाई भित्रै थुनेर राखिन्छ । सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए\नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ । सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायीरूपमा पानी पठाइन्छ । यो प्रक्रियाका लागि दुइ महिना समय लाग्ने पन्तले बताए । सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण सुरु हुनेछ ।
यसअघि गत असारमा सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा १०औं दिनमा नै सुरुङको गेट फुटेको थियो । दुर्घटनाकाृ जाँचबुझको लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दबाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ । सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र द्वार निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरूले जिम्मेवारी लिएका थिए । इप्टीसा कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो ।
आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।