स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरापालिकाले निशुल्क शिक्षा प्रयोजनार्थ गत बैशाख ४ गते गरेको ३८ जना शिक्षकको सरुवामा व्यापक चलखेल भएको पाइएको छ ।
नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सिता थापाको व्यक्तिगत चाहना बमोजिम आफ्नालाई सहज बनाउदैं आफु र आफ्नो संगठन इतरका शिक्षकलाई पेल्ने नियतले सरुवा गरेको पीडित शिक्षकहरूको आरोप छ । आफ्ना मान्छेलाई व्यवस्थापन गर्न केही शिक्षकको हकमा स्वभाविक सरुवा गरेको जस्तो देखिएपनि केही शिक्षकको हकमा भने स्पष्ट देखिने गरी ‘ठोक्ने र बोक्ने’ नीति लिएको देखिन्छ ।
नगरपालिकाले यस पटकको सरुवामा सबैभन्दा धेरै अन्याय साविक जनचेतना आधारभुत विद्यालय, चौतारा साँगाचोकगढी ७, नेपानेका शिक्षक चन्द्रहरी नेपाललाई गरेको देखिन्छ । उनलाई जनचेतनाबाट डडुवा भवानीशंकर माध्यामिक विद्यालयमा सरुवा गरिएको छ (क्र.सं. २३) । नेपानेदेखि डडुवाको बिचमा दर्जनौं विद्यालयमा सरुवाको सम्भावना हुँदाहुँदै पनि नेपाललाई उनी कार्यरत विद्यालयबाट सबैभन्दा टाढा सरुवा गरिएको छ । डडुवाको नजिकको विद्यालय जनविकास माविबाट प्राशि तृतीय शिक्षक ध्रुब घोरासैनीलाई जनचेतना नजिकको कृष्ण रत्नगंगा माविमा सरुवा गर्दा नेपाललाई भने फरक राजनैतिक विचार राखेकै कारण टाढा फालिएको एक शिक्षकले आरोप लगाए । शिक्षक नेपालको सरुवाले उनलाई व्यक्तिगत रुपमा त प्रभाव परेकै छ, उनी रहेको समुदायमा पनि असर पर्ने देखिन्छ । शिक्षक नेपालले नेपानेलाई दुध उत्पादनको पकेट क्षेत्र बनाउने अभियानमा थिए ।
उनकै नेतृत्वमा नेपानेमा प्रत्येक घरमा २ देखि ५ वटासम्म भैँसी पालन सुरुवात गरि उनकै व्यवस्थापनमा रहेको नवज्योति बहुउद्देश्यीय सहकारी मार्फत दूध संकलन तथा वितरण भइरहेको थियो । गाउँ छाडेर शहर पसेका परिवारहरु समेत नेपाने फर्किएर भैँसी पालन गर्न थालेका थिए । तर अब उनले आफ्नै घरमा भैँसीको संख्या त घटाउनेछन् नै, सिंगो नेपानेमै भैँसीपालन किसानको संख्या घटेर पुनः बस्ती उजाड हुने खतरा बढेको स्थानीय दिपक अर्याल बताउँछन् । नेपानेमा हाल दुध बेचेरै वार्षिक १ करोड रुपैयाँ भित्रने गरेको छ ।
नगरप्रमुख कृष्णप्रसाद सापकोटाकै निर्देशनमा नेकपा माओवादी केन्द्रमा चौतारा साँगाचोकगढी नगरपालिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ अध्यक्ष रहेको चौतारा ५ स्थित कृष्ण रत्नगंगा माविमा भने पार्टी निकटमा शिक्षकहरूलाई छानीछानी सरुवा ल्याइएको छ । सो विद्यालयमा सरुवा आएका ९ जना मध्ये २ जना बाहेक सबैजना माओवादी निकट शिक्षक सङ्गठनमा आवद्ध शिक्षक छन् । प्रमुख सापकोटाले सेतीदेवी मावि, चौतारा १ मा कार्यरत शिक्षक मोहनप्रसाद सापकोटालाई चौतारा ५ स्थित वनदेवी माविमा सरुवा गराएका छन् । सेतीदेवी माविममा प्रधानाध्यापक समेत चलाइसकेको शिक्षक सापकोटाविरुद्ध सेतीदेवीकै रहँदाको समयमा विभिन्न आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानविन समेत भइरहेको छ । जम्मा २ दरबन्दी थप हुनुपर्ने सो विद्यालयमा सापकोटालाई उनको घरपायक सरुवा गराई सो विद्यालयमा भने ३ जना शिक्षक सरुवा गराई पदपूर्ति गरिएको छ ।
शिक्षक सरुवा गर्दा कनिष्ठ शिक्षकलाई सरुवा गर्ने भनिएको भएपनि करिब १ बर्ष अगाडी महाकाली सेतीदेवी आवि, चौतारा ८ मा नियुक्त भएकी उपप्रमुख सिता थापाको बहिनी जयन्ती थापालाई सोही विद्यालयमा जोगाउन ८ वर्षदेखि कार्यरत शिक्षक बालकृष्ण दंगाललाई डडुवा भवानीशंकरमा सरुवा गरिएको छ (क्र.सं.२२) । दंगाललाई पनि नजिकको अन्य विद्यालयमा सरुवा गर्नसक्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि राजनैतिक प्रतिसोध साँध्नकै लागि टाढा पठाइएको हो ।
चौतारा ७ र ८ का शिक्षकलाई १४, डडुवा सरुवा गरिरहँदा तुलनात्मक रुपमा डडुवाको नजिकै पर्ने बच्छलादेवी आविमा कार्यरत उपप्रमुख थापाकै भाउजू जानकी थापा(क्र.सं.२७) लाइ भने उनको घरपायक पर्नेगरी रामदेवि माविमा सरुवा गरिएको छ । यसमा उपप्रमुख थापाले भाउजूको राम्रै संरक्षण गरेको देखिन्छ ।
हरिचन्द्र खड्का(क्र.सं. २५) लाई पाँचकन्या आवि, चौतारा ९ बाट हटाएर पोखरे आवि, चौतारा ११ मा हुत्याएर सो स्थानमा प्रभा खड्का(क्र.सं. २४) लाई लालीगुँरास आविबाट ल्याइएको छ । लाली गुँरास आविमा भने जनज्योती आविबाट दीपा तिमिल्सिना (क्र.संं.२८) लाई पठाएको देखिन्छ । हरिचन्द्र खड्का र दीपा तिमिल्सिना फरक राजनीतिक विचार बोक्ने भएकोले उनीहरूलाई अप्ठ्यारो बनाउनै सरुवा गरी मिल्काएको र प्रभा खड्कालाई सजिलो बनाएको देखिन्छ ।
सबैजनाको आफ्नो आफ्नो राजनीतिक अधिकार हुन्छ । उनीहरूले पेशागत संगठनमा आवद्ध हुन पाउँछन् । तर दुई जना वा सो भन्दा बढी शिक्षकलाई माओवादी निकट शिक्षक सङ्गठनमा आवद्ध हुने शर्तमा उनीहरूले चाहेकै विद्यालयमा सरुवा गरिएको छ । शिक्षकहरू र विद्यालयको नाम थाहा भएर पनि उनीहरूको वैयक्तिक गोपनीयता कायम गर्दैै समाचारमा नाम उल्लेख गरिएको छैन ।
(पुनश्चः माथि उल्लेखित विवरण खुल्लापानालाई उपलब्ध सूचना र नगरको सरुवा सुचीमा आधारित छ । यसमा कुनै विषय भ्रमपूर्ण परेमा वा अपुरो भएमा सच्चाइनेछ —सम्पादक)
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।