स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल सरकारले २०७३ सालमै शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरेको थियो । तर स्थानीय निकायहरुमा जनशक्ति अभाव भन्दै अपवादका एकदुई तह बाहेक कसैले पनि शिक्षकलाई मासिक तलव भुक्तान गरेनन् ।
अहिले फेरि गत मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकामा बिहीबार पत्राचार गर्दै शिक्षकको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न पत्रचार गरेको छ ।
फेरि पनि समस्या उहि देखाइरहेका छन् स्थानीय तहहरु कि हामीसँग जनशक्ति नै छैन । हामी कसरी मासिक तलब निकासा गराउन सक्छौ । मासिक तलब निकासा निकै झण्झटिलो छ । एकै प्रकारको शीर्षकबाट नभइ विभिन्न शीर्षकबाट तलब भुक्तान गर्नु पर्ने र शाखामा कर्मचारीको अभाव रहेको बताउँदै आएका छन् । यस प्रकारको आशयले फेरि पनि शिक्षकले मासिक तलब पाउने कुरा पत्रचारम नै सीमित हुने छाँट देखिएको छ ।
नेपाल सरकारले २०७३ मा गरेको पत्रचार मुताविक चौतारा साँगाचोकगढी नगरपालिकाले पनि २०७५ बाटै शिक्षकहरुलाई मासिक तलब भत्ता खुवाउँदै आएको छ । अरु तहमा झै यहाँ पनि कर्मचारीको अभाव त्यस ताकामा पनि थियो र अहिले पनि छ । १ उपसचिव १ शिक्षा अधिकृत १ प्राश को दरवन्दी भएको चौतारा साँगाचोकगढी नगरपालिकामा १ जना शिक्षा अधिकृत मात्र छन् ।
स्थानीय तहले नै २ जना शिक्षकलाई काजमा राखेर विद्यालय निरीक्षक बनाएको छ भने पूल दरवन्दीमा रहेका १ जना कर्मचारीले मासिक तलबभत्ता भुक्तान गर्दै आएका छन् ।
रोचक कुरा के छ भने उनी मासिक तलब मात्र मुक्तान गर्ने गर्दैन दैनिक कामकाज पनि उनकै थाप्लोमा छ साथै परीक्षा पनि उनी नै हेर्छन । र नगरपालिकाले कुनै प्रकारको सफ्टवेर किनेर दिएको वा अतिरिक्त सेवा सुविधा दिएर यो काम सम्भव भएको भने हैन । यो एउटा मान्छेको लगाव र इमान्दारी अनि काम प्रतिको समर्पणले सम्भव भएको हो ।
सानो बस काउण्टरको जत्रो कोठा । गुम्म निस्सासिने खालको । २ जना भन्दा बढी मान्छे अटिन्न ।वर्खायाममा मुनिबाट निरन्तर लामखुट्टेले टोक्ने र जाडो कक्रिने चिसो मानौ हिटलरको ग्याँस चेम्बर हो ।
त्यही परिवेशमा झुस्स दाह्री भएको, अस्तव्यस्त कानका दुई किनारबाट जिङ्रिङ्ग कपाल निस्केको एक व्यक्ति निरन्तर निहुरिरहेको हुन्छ । विदा बाहेक जुनकुनै बार होस्, जुनकुनै समय होस् सिङ्गो कार्यालयका कोहि नहुँदा पनि उनी भने हुन्छन् । उसैगरी निहुरिएर आफ्नो काममा निमग्न ।
हो, हामी कुरा गरिरहेका छौ चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको र त्यहाँका कर्मचारी अमित घिमिरेको ।
अमित घिमिरेको परिचय चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको कर्मचारी मात्र हैन । त्यसभन्दा माथि उनी साहित्यका र पत्रकारितामा सशक्त हस्ताक्षर हुन् । पढाइले अधिवक्ता हुन् । तर यस आलेखमा उनको सबै पक्ष थाति राखेर चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको कर्मचारी र उनको कर्मलाई चर्चा गर्ने छौँ ।
भनिन्छ उच्च मानिसले सबै कामलाई सम्मान गर्छ । मोतिको मूल्य रछ्यानमै झरे पनि त्यसको किमत घट्दैन । शिक्षा शाखाको लेखा र परीक्षा हेर्ने जिम्मेवार पाएका घिमिरे सबै काम गरिरहेको भेटिन्छन् । उनी भन्छन् “काम सानो हुँदैन । काम यसले गर्ने-नगर्ने र उसले गर्ने-नगर्ने भन्ने हुँदैन” । मुख्य जिम्मा लेखा र परीक्षा भएता पनि दैनिक चिठीपत्र लेखन, दर्ता चलानी, सूचना पाटीमा टाँस गर्ने सबै काम गरिरहेका हुन्छन् ।र पनि मासिक तलब भुक्तान गर्न सकिरहेका छन् ।
अझ रोचक कुरा त के छ भने उनको शाखाबाट सम्पादन हुने काम केबल २ मिनेटमा गर्ने संयन्त्रको विकास स्वयम् उनले नै गरेको ठूलो कुरो हो । विद्यालयको तथा शिक्षकको जुनकुनै पनि काम सबै कागजी प्रक्रिया पूरा गरेर जानुस् तपाई बस्न नपाउँदै तपाईको काम सकिइसकेको हुन्छ त्यो पनि केबल मिनेटमा ।
त्यति मात्र हैन चौतारा साँगाचोकगढी नगरपालिका भित्रमा विद्यालय शिक्षा सम्बन्धी कुनै पनि डाटा तपाईलाई १ सेकेण्डमा उपलब्ध हुन्छ । यस प्रकारको डाटा सेकेण्डमा शायदै अन्य शाखाहरुमा वा पालिकाहरुमा उपलब्ध होला ।
यस आ.व २०८०/८१ मा उनले वडाको बाहेक २६ करोड १० लाख २० हजार ५ सय ६८ रुपैया रकम निकासा गरेका छन् । त्यो रकम ७६ वटा विद्यालयहरुलाई हो । ७६ विद्यालयमा तलवभत्ता/पोशाक शीर्षकका ३१ करोड ६९ लाख ५ हजार ८ सय १४ रुपैया, पाठ्यपुस्तक छात्रवृत्ति तथा विभिन्न अनुदानका लागि २ करोड ७६ लाख २८ हजार ६१ रुपैया, विद्यालय दिवा खाजा (सशर्त) १ करोड ४९ लाख ६६ हजार ६ सय ८५ रुपैया र विद्यालय दिवा खाजा नगरको कक्षा ६ का लागि १५ लाख २० हजार ८ रुपैया रहेको छ ।
त्यसरी निकासा भएको रकम तलव भत्ता बाहेकको साढे ४ करोडको हर हिसाब जनप्रतिनिधिहरुले चासो राख्नु पर्ने हो । तर जनप्रतिनिधिहरुले चासो राखेको पाइन्न । जता ततै गुनासो छ । शुल्क उठाइयो, शिक्षकले छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम वितरण गरेनन्, दिवा खाजा भनेर विस्कुट तथा अन्य पत्रु खाजाको पुरिया दिइयो आदिआदि ।
गत शैक्षिक सत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका ७६ विद्यालयमा ९८७९ विद्यार्थी रहेको ईमिसमा तथ्याङ्क छ । त्यस हिसावले हेर्दा नेपाल सरकारको तीनै तहको २६ करोड अभिभावकको तथा विभिन्न दातृ निकायकहरुको लगानीको हिसाब गर्दा हुने रकमको सदुपयोग विद्यालयमा भएको छ त ? के विद्यार्थीले त्यस बराबरको प्रतिफल पाएका छन् त ?
वडा नं १३ का वडाध्यक्ष रामप्रसाद गौतम बाहेक कुनै पनि जनप्रतिनिधिले के कसो निकासा गएको छ भनेर नसोधेको घिमिरे बताउँछन् । जनप्रतिनिधिले मात्र हैन उनले केके गरेका छन् कसरी तथ्याङ्कहरु व्यवस्थित गरेका छन् भन्ने बारे सिङ्गो नगरपालिकालाई थाहा छैन । न त कर्मचारीतन्त्रलाई उनको मेहनतको बारेमा ज्ञात छ न जनप्रतिनिधिलाई । कसैको कोठामा नजानु र नभन्नु उनको शायद गल्ती हो । नगरपालिकामा मात्र काम गरेको पूरापुर ७ वर्ष वित्दा उनी मेयरको कार्यकक्षमा ३ पल्ट पुगे । उपमेयरकोमा त छिरेको पनि छैनन् रे । उनी जस्ता रिलेशन बढाउन नजान्नेहरुको कामको पनि कदर हुन्न ।
उनी अफिस जहिल्यै १० बजे अघि नै पुगेका हुन्छन् । सरकारले तोकेको समय नभइ निस्कन्नन । आफ्नो काम नसकिए विहान बेलुकी पनि गरिरेका हुन्छन् । उल्टै विहान वेलुकी मात्र समय दिएका छैनन् उनले प्राय: आफूले पाउने १२ दिन विदा पनि कार्यालयलाई नै दिएका छन् । त्यसो त कार्यालयले उनलाई उत्कृष्ठ कर्मचारीको सम्मान पनि दिएको छ । तर उनी भन्छन् “नियमित कामको सम्मान गरिरहनु पर्दैन । जागिर खाएपछि गर्ने काम गरेको हो, यो आवश्यक हैन” ।
“आफूले सम्पादन गरेको कामबाट आफ्ना सेवाग्राही खासै खुशी भए जस्तो लाग्दैन” । उनी भन्छन् “कसैको लागि नराम्रो हुन केही गर्न पर्दैन, केवल सत्य बोले र सत्य देखाए पुग्छ । र अनि पैसाको कारोवार गर्ने ठाउँमा बसेपछि सबैको जाति हुन सकिन्न” ।
आफूले गरेको कामका बारेमा उनी थप्छन्-“मैले कसैलाई देखाउन गरेको हैन । आफूलाई सहज र सजिलो गराउन गरेको हुँ । वनमा कोइलीले कसैले मेरो गीत सुन्यो सुनेन भनेर गाउँदैन” ।
अहिले सरकारले मंसिर १७ मा पुन: शिक्षकहरुलाई मासिक तलब खुवाउन परिपत्र गरेको र स्थानीय तहले मासिक तलवभत्ता खुवाउन नसक्ने बताइरहँदा उनी भन्छन्
“किन सकिन्न जम्मा १ हप्ताको सामान्य मेहनतले यो काम सजिलै गर्न सकिन्छ । कोषमा पैसा नहुनु, निकासा फुकुवा नआउनु, समयमा माग फाराम नआउनु मात्र यसको चुनौति हो नत्र कुनै अन्य व्यवधान छैन । कर्मचारीको रेलोखेलो चाहिन्न” ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।