स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्थानीय तहको निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारी चुनावी सामाग्री लिएर गाउँ हिँडेका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिएका लगायत चुनावमा प्रयोग हुने सबैखाले सामाग्री बोकेर उनीहरु खटाइएको मतदान केन्द्रतिर लागेका हुन् ।
‘सबै कर्मचारी मंगलबार दिउँसोसम्म सम्बन्धित मतदान केन्द्र पुगिसक्ने छन्,’ जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले नागरिकसँग भने । उनका अनुसार गाउँ पुग्नासाथ शून्य समय सुरु हुनु अगावै मतदान केन्द्र अधिकृतले केन्द्र तोकेको र चुनावी प्रचार रोकिएको सूचना जारी गर्दै सर्वदलीय बैठक गर्ने छन् ।
केन्द्रको ३ सय मिटर आसपासमा टाँसिएका चुनावी प्रचार सामाग्री हटाइने छ भने उम्मेदवारले आफ्ना प्रतिनिधि तोकेर नाम अधिकृतलाई बुझाउने छन् । सम्बन्धित केन्द्रबाटै बुधबार र बिहीबार कर्मचारीले मतदाता परियतपत्र बितरण गर्ने रिजालले जानकारी दिए ।
‘यी दुई दिन केन्द्रमै मतदाता शिक्षा कार्यक्रम चलाइने छ,’ उनले भने । बिहीबार साँझ केन्द्रमा घेराबार लगायत व्यवस्थापनका काम हुनेछन् । सियो, धागो, सलाई, ल्हा, स्वस्तिक छाप, कपडाका थैला, घेराबार, विभिन्न प्लेकार्ड, डोरी, कलम, नेपाली कागज, फोटोकपी पेपर, विभिन्न अनुसूची लगायत ७० प्रकारका चुनावी सामाग्री कर्मचारीले बुझेका छन् ।
निर्वाचन कार्यालयका अनुसार सिन्धुपाल्चोकका १२ स्थानीय तहका १ सय ४४ स्थानमा ३ सय १६ मतदान केन्द्र तोकिएको छ । मतदानका लागि १ हजार ५ सय ८० कर्मचारी खटाइएको छ । प्रतिकेन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक कार्यालय सहयोगी गरेर पाँच कर्मचारी खटाइएका छन् । मतदान अधिकृतले केन्द्रमा एक महिलासहित स्थानीय तीन स्वयम्सेवक नियूक्त गर्ने छन् । सबै केन्द्रमा ९ सय ४८ स्वयम्सेवक खटिने छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकामा निजामती सेवाका कर्मचारीले मात्र चुनाव गराउने छन्। उपसचिव तहका अधिकृतलाई मतदान अधिकृत तोकिएको छ । अन्य स्थानीय तहमा भने शिक्षकलाई समेत खटाइएको निर्वाचन अधिकारी रिजालले बताए । जिल्लामा २ लाख ५५ हजार ७ सय १२ मतदाता छन्। सबैभन्दा धेरै मतदाता मेलम्ची नगर र थोरै भोटेकोसी गाउँपालिकामा छन् ।
मतदान केन्द्रमा ३ तीन सय १८ मतपेटिका पु¥याइने छ । ८ सयसम्म मतदाता रहेका केन्द्रमा ठूला दुईवटा र त्यसभन्दा बढी मतदाता रहेका केन्द्रमा थप एक सानोसहित तीनवटाका दरले मतपेटिका वितरण गरिएको कार्यालयले जनाएको छ ।
एक सय ७१ केन्द्रमा तीन र १ सय ४५ केन्द्रमा २ वटाका दरले मतपेटिका पुग्नेछन् । ‘१२ निर्वाचन अधिकृतको कार्यालयमा चारवटाका दरले मटपेटिका मौज्दात रहने व्यवस्था गरिएको छ,’ निर्वाचन अधिकारी रिजालले भने । उनले चुनावी तयारी अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिए । नागरिकबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।