स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
असार २६ गते चौतारा साँगाचोकगढी नगरपालिकाको १६ औं नगरसभा विवादित बन्यो । स्पष्ट दुई खेमामा विभाजित नगरसभाका सदस्यहरुबिच धकेलाधकेलको अवस्था बन्यो । एक पक्षले अर्को पक्षलाई ‘हात हालेको’ आरोप लगाए ।
मुडभेडकै अवस्था बन्दा नगरको सभाहल एकछिन तनावग्रस्त बन्यो । कुर्सी तथा स्पिकर लडाइए । जनप्रतिनिधिहरु एक अर्कालाई ठेलाठेल गर्दै हातपातसम्मको अवस्थामा पुगे । एकले अर्को पक्षलाई गालीगलौज गरे । नगरप्रमुखको विरुद्धमा हलभित्रै नाराबाजी भयो ।
नाराबाजीकै बिचमा नगरप्रमख कृष्णप्रसाद सापकोटाले आर्थिक बर्ष २०८१/८२ को बजेट तथा विनियोजन विधेयक सभामा पेश गरे । नाराबाजीकै बिचबाट मेयर पक्षधर सदस्यहरुले ताली बजाए । मेयर सापकोटाले अत्यधिक बहुमतले विधेयक पारित भएको घोषणा गरे र हलबाट बाहिरिए । नाराबाजी गर्नेहरु हेरेको हेर्यै भए, नगरसभा सम्पन्न भयो ।
नगरपालिकाले अरबौं बजेड कार्यान्वयनमा ल्याउँदा पनि वडाहरुलाई भने कम बजेट दिएकोमा काँग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरु मेयरसँग असन्तुष्ट थिए । अघिल्लो आर्थिक बर्षमा ८५ लाख रुपैयाँ वडातर्फ विनियोजन गरेकोमा आगामी आर्थिक बर्षको लागि वडाध्यक्षहरुकै माग बमोजिम १ करोड रुपैयाँ छुट्याउने निर्णय गरिएको थियो । त्यतिमा पनि फरक पक्षका वडाध्यक्षहरुले चित्त बुझाएनन् ।
असार २५ गते समेत साँझ अबेरसम्म कार्यपालिका बैठक बस्यो । सो बैठकमा नगर पुर्वाधार तथा अन्य विषयगत शिर्षकमा छुट्याइएको बजेट ब्रेकडाउन गरि योजनाको नाम नै उल्लेख गरेर नगरसभामा पेश गर्नुपर्ने जिकिर फरक पक्षले राख्यो । मेयर सापकोटाले सबै वडाध्यक्षहरूकै सहमतिमा ती बजेट कार्यान्वयन गर्ने भनी दिएको आश्वासन वडाध्यक्षहरुले पत्याएनन् । आफुहरु कार्यपालिका बैठकमा हस्ताक्षर नगरि निस्किएको वडा नं ३ का अध्यक्ष टेकबहादुर तामाङले बताए ।
बैठकबाट बाहिरिएपछि थप समन्वयको प्रयास नगरी नगरसभा सञ्चालन गर्न लागेको आरोप फरक पक्षको छ । ‘ बच्चा रोएपछी किन रोयो भनेर सोधीखोजी गर्नु अभिभावकको दायित्व हैन र?’ वडाध्यक्ष तामाङले खुल्लापानासँग भने -‘ मेयर सापकोटाले हामीलाई छलफलमा बोलाउन आवश्यक नै ठान्नुभएन ।’ त्यसैको आक्रोश नगरसभा हलमा देखियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले २०८१/८२ को नीति, कार्यक्रम र बजेट पेश गरिरहँदा हल शान्त थियो । काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको भने उपस्थिति बेगर माओवादी र समाजवादीका जनप्रतिधि तथा कर्मचारी र सञ्चारकर्मी मात्रै हलभित्र थिए ।
नगरसभा चलिरहँदा हलभित्र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ का टेकबहादुर तमाङ प्रवेश गरे । लगत्तै वडा न २ का वडा अध्यक्ष सुदीप श्रेष्ठ प्रवेश गरि स्पिकर लडाउन थाले । मेयर बोल्दै गर्दा स्पिकर बन्द नभएपछि श्रेष्ठ प्राविधिकतर्फ गएर माईकको तार थुते । थप क्षति हुन नदिन र श्रेष्ठलाइ संयमित बनाउन वडा नं ११ का वडाध्यक्ष रोशन गिरी र वडा नं १३ का वडाध्यक्ष रामप्रसाद गौतम सुदिप श्रेष्ठ भएतिर पुग्छन् । ३ वडाध्यक्ष तामाङ पनि श्रेष्ठसँगै थिए, त्यसैमा थपिए वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठ ।
शिव श्रेष्ठसँग ६ का वडासदस्य रवि खत्रीको ठेलाठेल भयो । ५ का सदस्य कोमलबहादुर श्रेष्ठले ३ का अध्यक्ष तामाङलाई नियन्त्रण गर्न खोजे । त्यसैबेला वडाध्यक्ष तामाङले कोमलले आफुलाई हात हालेको आरोप लगाउदैं चिच्याए । माहौल त्यतातिर मोडीयो ।
त्यसपछि माहौल थप उत्तेजित भयो । वडाध्यक्षमध्येकै शालीन तामाङलाई हात हालेको भनेपछि वडाध्यक्षहरु वडा नं २ का सुदिप श्रेष्ठ , ३ का टेकबहादुर तामाङ , ५ मा शिव श्रेष्ठ , ९ का बिमल श्रेष्ठ , १० का निलबहादुर तामाङ लगाएत केही कार्यपालिका सदस्यहरु वडा सदस्य कोमल र खत्रीमाथि जाइलागे । वडा नं ४ का अध्यक्ष कुमार शर्मा, ११ का रोशन गिरि, १३ का रामप्रसाद गौतम लगाएत केहि कार्यपालिका सदस्यहरु प्रतिरक्षामा जुटे । वडा नं ९ का श्रेष्ठ , १० का तामाङजस्तै वडा नं १४ का अध्यक्ष उद्धव नेपाल पनि प्रतिपक्षको टिममै रहे ।
हलको पछिल्लो भागसम्मै धकेलाधकेल भएपछि कोमबहादुर पछाडिको ढोकाबाट बाहिरिए । त्यसपछि भन माहौल मञ्चतर्फ सोझियो । मञ्चको अग्रभागमा मेयर तथा नगरपालिकाविरुद्ध नाराबाजी सुरु भयो । यत्तिकैमा नगरप्रमख सापकोटाले बजेट तथा विनियोजन विधेयक नगरसभामा निर्णयार्थ पेश गरे । माओवादी तथा समाजवादीबाट निर्वाचित कार्यपालिका सदस्यहरुले तालि बजाए । नगरप्रमुखले विधेयक बहुमतले पारित भएको घोषणा गर्दै हलबाट बाहिरिए । प्रतिपक्षी टोलि पनि बाहिरियो ।
घटनापछि चौतारा साँगाचोकगढी नगर कमिटी नेपाली काँग्रेस र एमालेले सो घटनालाई लिएर संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । १६ औं नगरसभामा भएको घटना अनेपक्षित भएको भन्दै उनीहरुले नगरसभा जबरजस्ति सञ्चालन गर्न खोजेको र आफ्ना पार्टीका जनप्रतिनिधिहरु सभा हलमा प्रवेश गर्न खोज्दा माओवादी कार्यकर्ता र केही कर्मचारीहरु प्रयोग गरेर हातपात गर्दै सभाहलबाट निष्काशन गर्नुुपर्छ भन्दै योजनावद्ध तवरले गलहत्याउन खोजेको आरोप लगाएका छन् ।
नगरसभामा हातपात गर्नेहरुमाथि कारबाहीको माग गर्दै त्यस्ता हर्कत नसच्याए नगरप्रमुखको विरुद्ध निर्मम भएर लाग्ने पनि विज्ञप्तिमा पनि उल्लेख गरिएको छ ।
यता माओवादी केन्द्र र समाजवादी नगर मिमिटीले पनि घटनाको घोर भत्र्सना गर्दै विज्ञप्ति निकालेको छ । उसले एमाले र काँग्रेसबाट जितेका वडा अध्यक्षहरुको उदण्डताले नगरपालिकाको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै यस्ता अवान्छित गतिविधि नरोकिए प्रतिकारमा उत्रन वाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
१४ वटा वडा रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा ४ जना वडा अध्यक्ष काँग्रेसका ४ जना एमाले, उपप्रमुख सहित १ जना समाजवादीका छन् भने मेयरसहित बाँकि ५ जना वडा अध्यक्ष माओवादीका छन् । ७५ जना नगरसभा सदस्य रहेकोमा ३३ जना काँग्रेस र एमालेका छन् भने बाँकी माओवादी र समाजवादीका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।